ताप्लेजुङ - पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो।
बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना आस्थाका थुप्रा बोकेका थिए। कसैको मनमा आफ्नो मुराद पूरा गर्ने आशा थियो, कसैले घर फर्केपछि ल्याउने ‘प्रसाद’ को कल्पना गर्दै थिएका थिए। तर त्यो यात्रा, बीचमै रोकियो - आगोको गोलामा परिणत हुँदै।
पाथीभरा क्षेत्रको सेवारो चोक पुग्नै लाग्दा, अचानक जिपले सडकमा लत्रिएको बिजुलीको तार छोयो। एक झ्याप्प आवाज, अनि आगोको ठूलो मुस्लो। सेवारो चोकले यति दर्दनाक दृश्य सम्भवतः कहिल्यै देखेको थिएन।
मे १ ज ३०११ नम्बरको जिप पाथीभरातर्फ यात्रु बोकेको थियो। तर, लत्रिएको विद्युतको तारले टच गर्दा सवारीमा आगलागी भयो। जिपभित्रका यात्रुहरूलाई न त भाग्ने मौका मिल्यो, न त कुनै सहायता पुग्यो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावल भन्छन्, 'दुर्घटनामा दुई पुरुष र दुई महिला गरी चार जनाको घटनास्थलमै मृत्यु भएको छ।'
च्यापिएको जिपबाट सकससाथ निकालिएका दुई जना यात्रु घाइते छन्। उनीहरू आमा र छोरा हुन्। आमाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनका १० वर्षीय छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।
त्यस्तै, घाइते हुनेमा ललितपुर-१० का ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य छन्।
स्थानीयहरू भन्छन् - आगलागीपछि केही यात्रुहरू बच्न खोजे, तर जिपमा लागेको आगो यति भीषण थियो कि चार जनाको शव नचिनिने अवस्थामा जलेर नष्ट भएको छ।
अहिले पनि सेवारो चोकमा आगोको गन्ध र मृत्युको सन्नाटा फैलिएको छ। मानिसहरू मौन छन्, आकाश छात्तिएको छ।
ताप्लेजुङजस्ता पहाडी जिल्लामा सडकसँगै विद्युत्का पोलहरू र तारहरू अनियन्त्रित ढंगले बिछ्याइएका छन्। कतै पोल बाङ्गिएका छन्, कतै तार लत्रिएका छन्। यस्ता दुर्घटनाहरूका जोखिमबारे पटक-पटक चेतावनी दिइँदै आएको भए पनि सुधार भएको छैन।
स्थानीय एक बासिन्दा भन्छन्, 'हामीले पहिले नै भनिरहेका थियौं तार लत्रिएको छ। कुनै दिन ठूलो दुर्घटना हुन्छ। तर सुन्ने कसले?'
आज त्यो डर साँचो भयो। चार जना निर्दोष यात्रुहरूको सपना अधुरैमा छोडेर।
जिपमा आगलागी यति भीषण भएको थियो कि उनीहरूको अनुहार, शरीर चिन्नसमेत मुस्किल छ। प्रहरी र स्थानीय प्रशासन पहिचान खुलाउने प्रयासमा जुटिरहेका छन्।
पाथीभरा, जसलाई हजारौं भक्तजनले आफ्नो आस्था र विश्वासको थलो मानेका छन्। तर, पुग्नुअघि नै चार यात्रुले जीवन गुमाउनु पर्यो। यो केवल एउटा दुर्घटना मात्र होइन, आस्थाको यात्रा बीचमै रोकिएको एउटा पीडादायी कहानी हो।
ताप्लेजुङका स्थानीयबासी भन्छन्, 'यो केवल बिजुलीको तार मात्र होइन, राज्यको बेवास्ताले बुनेको एउटा मृत्युतर्फको बाटो थियो।'
अब प्रश्न उब्जिएको छ के अब पनि यस्ता लत्रिएका तारहरू सही गर्न ढिला गरिने छ? वा यी चार जीवनहरूको बलिदानले केही सचेतता ल्याउने छ?
सेवारो चोक, जसले आज एउटा कालो बिहान देख्यो, अब सधैंका लागि एउटा सम्झनाको स्थल बनेर बाँकी रहने छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि...
अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ । तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई...
भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने...
अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले यो जवाफी कदम चालेको हो । तर,...
काठमाडौं, २० चैत । अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम मानिसको जिज्ञासा बढाउने गरेको छ। गत वर्ष, वैज्ञानिकहरूले यस्तै एउटा अनौठो संकेत पाएका...