ताजा

  • बुधबार, १८ असार, २०८२
  • ०३:१६:२४
  • नेपालीको अभिमत

बाहिरको नेपाल

वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

नेपालमत

बुधबार, १३ असार, २०८०

नवलपरासी- बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् ।

वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७ पुरुष र एक महिलाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ । ज्यान गुमाउनेमा देवचुलीका सात, कावासोतीका ६, मध्यविन्दुका ६, गैँडाकोटका चार, विनयी त्रिवेणीका तीन र हुप्सेकोटका एक जना छन् ।

अत्यधिक समय काम गर्ने, भनेजस्तो नहुँदा तनावमा काम गर्नेलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको कार्यक्रमका परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । अत्यधिक रकम खर्चेर विदेश जाँदा धेरै आम्दानी गर्ने दबाबका कारण लगातार काम गर्दा कतिपय घटना हुने गरेको उहाँले बताउनुभयो ।

संयोजक सोतीका अनुसार एक वर्षमा वैदेशिक रोजगारसम्बन्धी नवलपुरमा एक सय ८८ मुद्दा दर्ता भएका छन् । तथ्याङ्कानुसार ठगीमा पर्नेको सङ्ख्या सबैभन्दा बढी छ । एक सय ८८ मध्ये एक सय १८ मुद्दा ठगीसम्बन्धी रहेका छन् । उद्धारसम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका १० मुद्दा १० छन् । 
 
सुरक्षित आप्रवासन कार्यक्रममार्फत दर्ता भएकामध्ये  ८१ मुद्दाको समाधान गरिएको र यसबाट पीडितलाई रु तीन करोड २० लाख ६० हजार क्षतिपूर्ति उपलब्ध गराइएको संयोजक सोतीले बताउनुभयो । जिल्लामा सञ्चालित कार्यक्रममार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved